भर्खरै

पोखरामा बायोग्यासको व्यावसायिक उत्पादन सुरु, दैनिक १ सय सिलिन्डर ग्यास उत्पादन

  • प्रकाशित मिति : Wed-18-Sep-2019
  • - Admin
title

कास्की, भदौ । गण्डकी ऊर्जा प्रा.लि.ले पोखरामा वायोग्यासको व्यावसायिक उत्पादन शुरू गरेको छ । पोखरा महानगरपालिका–३२, मझुवामा स्थापना गरिएको उद्योगले हाल दैनिक एक सय सिलिन्डर ग्यास उत्पादन गर्दै आएको छ ।  
उक्त उद्योग स्थानीय १४ युवा व्यवसायीले रू. २५ करोडको लगानीमा सञ्चालन गरेका हुन् । 
 
कम्पनीले ४५ टन फोहोर प्रशोधन गरी दैनिक २ सय सिलिन्डर बायोग्यास उत्पादन गर्ने योजना रहेको बताएको छ । कम्पनीका अनुसार प्रतिसिलिन्डर १ हजार १५९ रुपैयाँ मूल्य तोकिएको छ । कम्पनीबाट उत्पादित बायोग्यास बजारमा पाइने एलपी ग्यासभन्दा बढी प्रज्जवलनशील, सस्तो र वातावरण मैत्री रहेको कम्पनीले  जनाएको छ । 
 कम्पनीका सञ्चालक कुशल गुरुङका  अनुसार प्लान्टमा हाल गाईभैंसीको गोबर, कुखुराको सुली र बंगुरको खोरबाट निस्किएको फोहोरलाई कच्चा पदार्थका रूपमा प्रयोग गरिएको बताए ।  प्लान्टबाट उत्पादन हुने ग्यास स्थानीय उद्योग र रेष्टुराँमा खपत हुने गरेको उनले जानकारी दिए ।  अहिले उद्योगका विभिन्न रेस्टुराँ र उद्योग गरी १० ओटा नियमित ग्राहक बनेको जानकारी दिै उनले भने ‘घरायसी प्रयोजनमा खपत गर्ने हो भने ८ हजार घरधुरीमा प्लान्टको ग्यास वितरण गर्न सकिन्छ,’ ।
बायोग्यास भर्ने सिलिन्डर महँगो पर्ने भएकाले ठूलो मात्रामा नियमित रूपमा ग्यास खपत हुने ठाउँहरू मात्र अहिले आनो प्राथमिकतामा रहेको उनले बताए ।  घरघरमा र्पुयाउन पाइप लाइन विस्तारबारे सरकारको स्पष्ट नीति नहुँदा सिलिन्डर प्रयोग गर्नुपरेको उनको भनाई थियो । ग्यास उत्पादनसँगै प्लान्टबाट दैनिक १२ देखि १४ टन मल पनि उत्पादन हुने गरेको छ । 
प्लान्ट सञ्चालन गर्न महानगरपालिकाबाट दैनिक उत्पादन हुने फोहोरलाई समेत प्रयोग गर्न सकिने भएतापनि  महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याएका कारण प्रयोगमा ल्याउन नसकेको उनले बताए ।
उद्योगमा फोहोर घोल्न तीन वटा टंकी निर्माण गरिएको छ । शुरूमा गाई, भैंसी, कुखुराको मल तथा घरबाट निस्कने कुहिने फोहोर र पानीको उचित मात्रा मिलाएर मिक्सिङ टंकीमा घोलिन्छ । घोल पाइपको माध्यमबाट डाइजेस्ट टंकीमा पठाइन्छ । डाइजेस्ट टंकीबाट रेसिड्यु टंकीमा पुगेपछि ग्यास पाइपमार्फत फिलिङ स्टेशनमा पठाइन्छ भने मल अर्को ठाउँमा जम्मा गरिन्छ । उद्योगका मेकानिकल इन्जिनियर जितेन्द्र रामका अनुसार यो ग्यास प्रकृतिका ज्वलनशील पदार्थहरू मिथेन, कार्बनडाइअक्साइड र हाइड्रोजन सल्फाइडको मिश्रण हो । 
यसले जलवायु परिवर्तनलाई रोक्छ र वातावरण स्वच्छ राख्न मद्दत पु¥याउने भएकाले यसलाई सफा ऊर्जा अर्थात् क्लिन इनर्जी भनिएको उनले बताए ।  गण्डकी प्रदेशको नवलपुर र स्याङ्जाको नौडाँडामा समेत यस्ता उद्योग गत वर्षदेखि नै सञ्चालनमा आएका छन् । सन् २०१६ मा निर्माण थालेर २ महिना अघि परीक्षण उत्पादन थालेको उद्योगमा अहिले २५ जना कामदार कार्यरत छन् । 

प्रतिक्रिया