२२ मेगावाटको तल्लो हेवा जलविद्युत राष्ट्रिय प्रसारणमा जोडियो

  • प्रकाशित मिति : Thu-01-Aug-2019
  • -
title

फिदिम,साउन ।  २२ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा लाइनमा थप भएको छ । पाँचथर जिल्लामा निर्माण भएको जलविद्युत् आयोजनाबाट २२.३४ मेगावाट विद्युत् उत्पादन सुरु भएको हो । 
सो आयोजनाबाट साउन ४ बाट परीक्षण उत्पादन सुरु भई हाल विद्युत् केन्द्रीय प्रसारण लाइनमा प्रवाह भइरेको छ । 
आयोजनाका निर्देशक दीपेन्द्र आङ्बोले आयोजना निर्माण सम्पन्न भएर आम्दानी गर्ने अवस्थामा पुगेकोमा खुसी व्यक्त गर्दै परीक्षणको १५ दिनपछि उत्पादित विद्युत् बिक्री गर्न थालिने बताए । फिदिमस्थित थापाटारको कावेली कोरिडोर सबस्टेसनबाट तल्लो हेवाको विद्युत् केन्द्रमा पठाउन थलिएको हो । 
 
आयोजनाबाट जेठ र मङ्सिर बीचको ६ महिनासम्म २२.३४ मेगावाट विद्युत् उत्पादन हुने सिनियर इलेक्ट्रिकल इन्जिनियर नामेश्वर यादवले बताए । उनका अनुसार खोलाको पानी घट्ने सिजन मङ्सिर–वैशाखको ६ महिना बीचमा १० देखि १२ सम्म उत्पादन हुनेछ । यहाँका हेवा र फेमे दुई खोलाको पानी जोडेर तल्लो हेवा जलविद्युत् आयोजना निर्माण भएको हो । अहिले तल्लो हेवाबाट २४ मेगावाटसम्म उत्पादन गर्नसकिने पानी उपलब्ध रहेको इन्जिनियर नामेश्वरले बताए । नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) सँगको सम्झौतामा बाँधिएर २२.३४ मेगावाट मात्र निकालिरहेको उनले सुनाए । यहाँबाट प्रतिदिन उत्पादित पाँच लाख ७० हजार युनिट विद्युतबाट २२ लाख रुपियाँसम्म आम्दानी हुने जनाइएको छ । हाइड्रोपावर कम्पनीबाट नेविप्राले प्रतियुनिट वर्षायामको चार रुपियाँ ८० पैसा र सुक्खायामको आठ रुपियाँ ४० पैसामा विद्युत् किन्ने जनाइएको छ । तल्लो हेवा आयोजना माउन्टेन हाइड्रोपावर लिमिटेडले बनाएको हो । विभिन्न व्यवधानका कारण तल्लो हेवाको काम ढिलो सम्पन्न भएको हो । यसको पाँच हजार ३०० मिटर सुरुङ र ६०० मिटर पेनस्टक बनाइएको छ । हेवातिरको इन्टेक फिदिम नगरपालिका ११, नागिन सेजेपा र हिलिहाङ गाउँपालिका ७, भारापाको सीमामा बनेको छ । पावर हाउस फिदिम ४ को सारान्थामा छ । तीन अर्ब ६६ करोडमा सक्ने गरी बनाउन थालिएको तल्लो हेवाको लागत ७० करोड बढेको जनाइएको छ । नाकाबन्दी, भूकम्प, आन्तरिक विवादले बीचबीचमा काम रोकिँदा लागत बढेको आयोजना प्रमुख गणेश सुब्बाले बताए । बैङ्क ऋणको ब्याजले लागत बढाएको उनको भनाइ छ । २०७४ असारमा सक्ने सम्झौतामा २०७० मङ्सिरदेखि तल्लो हेवाको निर्माण थालिएको थियो । यो आयोजना निर्माणमा १२ वटा राष्ट्रिय वाणिज्य बैङ्कको ७० प्रतिशत लगानी रहेको छ । गोरखापत्र दैनिक

प्रतिक्रिया