लत्रिएका तारहरुमा पुग्न सकेन सरकारको ध्यान

  • प्रकाशित मिति : Wed-28-Nov-2018
  • - निर्मल श्रेष्ठ
title

काठमाडौको सौन्दर्यता माथि जथाभावी रुपमा टाँगिएका बिजुलीका तार तथा टेलिफोन र इन्टरनेटका तारहरुले गर्दा शहरको सुन्दरता लोप हुँदै गएको छ । काठमाडौं उपत्यका भित्र नेपाल विद्युत प्राधिकरण तथा दूरसञ्चार सेवा प्रदायकले पोलमा भुईसम्म लतारिने गरी तारहरुको विस्तार गर्दा सुन्दरता माथि धब्बा लागेको हो । काठमाडौका हरेक स्थानमा अनावश्यक रुपमा तारहरु टाँगिएको पाइन्छ । त्यसैमाथि जथाभावी फोहोर । यस्ता फोहोरले शहरका हरेक क्षेत्रमा दुर्गन्ध फैलिरहेको छ । उपत्यका भित्र हुने यस्ता फोहोरहरुको व्यवस्थापन तर्फ काठमाडौं महानगर तथा अन्य संघ संस्थाहरुले पहल नगरेको त होइन तर पहल गरेता पनि उचित व्यवस्थापन भने हुन सकेको छैन । उपत्यका भित्र हुने ६० प्रतिशत दुर्घटनाहरु बिजुलीका पोल र अस्तव्यस्त तारका कारण नै हुने गरेको छ । गत सोमबार मात्र विद्युत सर्ट भई बुद्धनगरको फर्निचरमा भीषण आगलागी भएको छ । यहि अव्यवस्थित रुपमा टाँगिएको बिजुलीका तार सर्ट भई फर्निचर र फर्निचर वरपरका घरहरुमा ठुलो भौतिक क्षति पुगेको छ । उपत्यका भित्र विद्युत प्राधिकरण तथा दूरसञ्चार सेवा प्रदायक संस्थाको लापर्वाहीको शिकार जनता हुने गरेको छ । गल्ती प्रधिकरण र सेवा प्रदायक जस्ता जिम्मेवार संस्थाले गर्छ तर सजाय गरिव जनताले भोग्नुपर्छ । आखिर कहिले सम्म चल्छ यसरी ? यो समस्याको दिगो व्यवस्थापन हुने कहिले ? पोलमा भुईसम्म लतारिने गरी तार विस्तार गर्दा यस्ता घटना हरेक वर्ष भईरहेको छ । उपत्यका भित्रका अधिंकाशं स्थानमा तार भुइसम्म लत्रिएका छन भने अव्यवस्थित रुपमा बसाएको घना बस्तीमा नांगा तार तथा स्थानीयहरुको लापर्वाही प्रयोगले पनि करोडौंको धनमाल जलेर नष्ट हुनुका साथै कतिपय मानिसले अकालमा ज्यान गुमाउनु परेको छ त कतिपय घाइते तथा अंगभंग भई जीवनभर अरुको सहारामा बाँच्नुपर्ने बाध्यता बनेको छ । काठमाडौंमा मात्र आव ०७२,०७३ देखि चालु आव भित्र बिजुलीका पोल , अव्यवस्थित तार र विद्युत सर्ट भई आगलागी हुँदा १४ जनाले ज्यान गुमाए र दुई घाइते भए । दुर्घटनामा मानवीय क्षति सँगै २२ करोड ९४ लाख ७२ हजार पाँच सय रुपँैया बराबरको धनसम्पत्ति जलेर नष्ट भएको तथ्याड्ढमा देखिन्छ तर हरेक वर्ष यस्ता ठुल्ठुला विद्युतीय दुर्घटना भई क्षति हुँदा पनि सरोकारवाला निकायहरुको यो चासो विषय बन्न सकेको छैन । यस्ता दुर्घटनाहरु लाई रोक्न तथा काठमाडांैको विद्युत आपुर्तिलाई सहज बनाउन नेपाल विद्युत प्राधिकरणले सुदृढिकरण योजना अघि सारेपनि हाल सम्म यस कार्यले कार्यगति लिन सकिरहेको छैन । बिजुलीका तारहरु लाई भुमिगत गरी विद्युत आपुर्तिलाई सहज बनाउन कामको थालनी भएता पनि कामको गति जति तीव्र रुपमा हुनु पर्ने हो त्यति हुन सकिरहेको देखिदैन । तार भुमिगत गर्ने विषयमा थप कुनै पहल हन सकिरहेको छैन । यस समस्याको व्यवस्थापन तर्फ नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार जस्ता संस्थाहरुले ठुलो भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ । तारहरुको व्यवस्थापन गर्ने विषयमा यी नीकायहरुले जति चासो देखाउनु पर्ने हो त्यति चासो देखाउन नसकेकै कारण यस्ता समस्या रहिरहेको हो । महानगरपालिकाले शहरको सुन्दरतालाई मध्यनजर गर्दै गत वर्ष देखि लत्रिएका तार व्यवस्थापन गर्न लागि परेको भए पनि त्यसमा तत्परता देखाउन नसक्दा अहिले पनि तारहरुको अवस्था उस्तै नै रहेको छ । यहाँका विभिन्न स्थानका सडकको मध्यभागमै पर्ने गरी बिजुलीका पोलहरु ठडि नै रहिरहेका छन् । कसरी हुन्छ तार व्यवस्थापन ? उपत्यका भित्र बिजुलीका पोलहरुमा जथाभावी लत्रिएर रहेका तारहरुको व्यवस्थापन गर्नका लागि सम्बन्धित सबै सरोकारवाला निकायको ध्यान केन्द्रित हुनुपर्दछ । सबै नीकायहरुले यो विषयलाई प्राथमिकतामा राखेर मापदण्ड तयार गरी काम सञ्चालन गर्ने तयारी गर्नुपर्दछ । जथाभावी बिजुलीका पोलमा तार टाँग्ने इन्टरनेट सेवा प्रदायकलाई मापदण्डका माध्यमबाट नियमन तयार गरी तारलाई व्यवस्थापन गर्न सबै सेवा प्रदायक संस्थाहरुलाई तार कहाँ हाल्न पाउने, कहाँ नपाउने, कसरी हाल्नुपर्ने लगायतका विषयमा जानकारी दिनुपर्दछ । यदि तयारी गरेको नियमको दायरा भन्दा बाहिर गएर कुनैपनि संस्थाले नियम उल्लङघन गर्छ त्यसलाई उचित कारर्वाही गर्नुपर्दछ तब मात्र समस्याको समाधान गर्न सकिन्छ । तार व्यवस्थापनका लागि पहिलो विकल्पका रुपमा अन्डरग्राउन्ड गर्ने कार्यलाई तीव्र रुपमा अगाडि बढाउनु पर्दछ । यसका लागि काठमाडौं महानगरपालिका, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकहरु, खानेपानी, सहरी विकास, भौतिक योजना, गृह, अर्थलगायत मन्त्रालयहरुसंग समन्वय गरी सामुहिकतामा कार्यलाई अघि बढाएमा समस्याको पूर्ण रुपमा समाधान गर्न सकिन्छ ।

प्रतिक्रिया