भर्खरै

खुल्ला सीमानाले आगन्तुक इलेक्ट्रिसियनका कारण  यहाँका वास्तविक इलेक्ट्रिसियनहरु समस्यामा परेका छन् ।

  • प्रकाशित मिति : Wed-31-Oct-2018
  • - दिपक खनाल  सचिव, नेपाल इलेक्ट्रिसियन एशोसिएसन बाँके
title

प्राविधिक क्षेत्रको विकास भए सँगै प्राविधिक क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुको संख्या पनि  दिन प्रतिदिन बढ्दै गएको छ ।  संख्यात्मक रुपमा इलेक्ट्रिसियनहरुको वृद्धि भए पनि उनिहरुको क्षमता, दक्षतामा कत्तिको वृद्धि भएको छ, इलेक्ट्रिसियन क्षेत्रमा कस्ता समस्याहरु रहेका छन्, इलेक्ट्रिसिनहरुको हक हितका लागि सम्बन्धित निकायले  कत्तिको ध्यान दिएको छ भन्ने विषयमा विद्युत संसार साप्ताहिक पत्रिकाका सम्वाददाता शिखर श्रेष्ठले नेपाल इलेक्ट्रिसियन एशोसिएसन बाँकेका सचिव, दिपक सँग गरिएको कुराकानीको सम्पादित अंश ः

  • नेपाल इलेक्ट्रिसियन एशोसिएसन बाँके को स्थापनाका बारेमा बताइ दिनुहोस् न । 

इलेक्ट्रिसियन साथीहरुको लामो प्रयास पछि वि.स २०७१ सालमा नारायणदत्त पोखरेलको संयोजकत्वमा यस एशोसिएसनको स्थापना भएको हो । एशोसिएसनको स्थापना भएपछि पनि यसलाई कार्यान्वयनमा ल्याउनका लागि निकै कठिन भएको थियो । हामीले इलेक्ट्रिसियनहरुलाई समस्या पर्दा सहयोग गर्दै आएका कारण अहिले भने इलेक्ट्रिसियनहरु एशोसिएशन खोज्दै आउने गरेका छन् ।  एशोसिएसनमा हाल तीन सय ५० भन्दा बढी इलेक्ट्रिसियनहरु आवद्ध छन् ।  हामीले इलेक्ट्रिसियनहरुको हक अधिकार लाई मध्यनजर गर्दै तीन लाख रुपैयाँ बराबरको को इन्स्योरेन्स गर्ने  योजनामा छौ । यो छिट्टै नै कार्यान्वयनमा आउने छ । 

  • बाँकेमा इलेक्ट्रिसियन क्षेत्रमा देखिएका समस्याहरु बारे बताईदिनु होस् न ।

तत्कालको अवस्थामा हेर्ने हो भने विद्युतीय सामग्रीहरुको गुणस्तर मापदण्ड निर्धारण नहुनु, उपभोक्ताहरुले नै सस्ता मूल्यका कमशल सामग्रीको खोजी गर्नु, आगन्तुक इलेक्ट्रिसियनहरुले सस्तो मूल्यमा काम गर्नु मुख्य समस्याका रुपमा रहेको छ । बाँके जिल्ला नेपाल भारतको सीमानामा पर्ने र खुला सीमाना हुँदा आगन्तुक इलेक्ट्रिसियनहरु सस्तो मूल्यमा काम गर्ने गर्दछन् । जसले गर्दा दक्ष इलेक्ट्रिसियनहरु समस्यामा पर्ने गरेका छन् । 

  • खुल्ला सीमानाका कारण यस पेशामा पर्दै आएको समस्या समाधान गर्नका लागि संघले कस्तो पहल गर्दै आएको छ ?

नेपाल भारत खुल्ला सीमानाका कारण भारतबाट धेरै संख्यामा आगन्तुक इलेक्ट्रिसियनहरु आउने र हाम्रो संघले निर्धारण गरेको दर रेट भन्दा निकै सस्तो मूल्यमा काम गर्ने गर्दछन् । जसका कारण वास्तविक दक्ष इलेक्ट्रिसियनहरु समस्यामा पर्दै आएका छन् । हामीले घरधनीलाई आगन्तुक इलेक्ट्रिसिनलई काममा नलगाउनु भन्न मिल्दैन । यसको अन्त्यका लागि हामीले इलेक्ट्रिसियन संघ मात्र नभई महासंघ स्थापना गरी सरकारसँग  नै पहल गर्नु पदर्छ । इलेक्ट्रिसियन महासंघ स्थापनाका लागि जिल्ला संघहरु बीच छलफल हुँदै आएको छ । 
 

  • दक्ष इलेक्ट्रिसियन यो नै हो भनेर चिनाउनका लागि संघले कस्ता कार्य गर्दै आएको छ ?

हामीले इलेक्ट्रिसियनहरु लाई चिनाउनका लागि, इलेक्ट्रिसियनहरुको छुटै पहिचान र अधिकारका लागि हामीले इलेक्ट्रिसियनहरुलाई लाइसेन्स व्यवस्था गर्न नगरपालिकामा पहलमा  गर्दै आएका छौ । यसका लागि हामीले नगरपालिका सँग पटक–पटक छलफल गर्दै आएका छौ । तर यसका लागि नगरपालिकाले वातावरण नै बनाएको छैन । हामीले स्तर अनुसार ग्रेड निर्धारण गर्नका लागि पहल गरे पनि यसमा नगरपालिकाले चासो नदेखाउँदा अहिले सम्म यस विषयमा केही हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार