भर्खरै

“लोडसेडिङ मैले हटाएँ सडक विस्तार गराएँ तर जस अर्कैले पायो”

  • प्रकाशित मिति : Wed-22-Aug-2018
  • - टोप बहादुर रायमाझी केन्द्रीय सदस्यः नेपाल कम्युनिष्ट पार्टी
title

टोपबहादुर रायमाझी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् । पूर्व ऊर्जामन्त्री समेत रहेका रायमाझी सरकारको काम कारर्वाहीलाई मूल्याङ्कन गर्ने समय आइनसकेको बताउँछन् । सरकारको काम कारर्वाहीलाई लोकप्रिय बनाउन जवाफदेहीता र पारदर्शीता हुनुपर्ने उनको बुझाइ छ । उनी प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारबाट पार्टी बैठक सञ्चालन गर्न पाउनुपर्ने दाबी गर्छन् । काठमाडौंमा लोडसेडिङ्गको अन्त्य र सडक विस्तार आफ्नै योजनामा भएको तर जस पाउन नसकेको रायमाझीको गुनासो छ । उनै रायामाझीसँग सरकारको गतिविधि, आगामी योजना, र पार्टी महाविधेशनबारे गरेको संक्षिप्त कुराकारीः

 

२ तिहाईको सरकार जनताले सोचे अनुरुप अगाडि बढ्न सकेन, किन होला ?

सरकारको मूल्याङ्कन गर्ने बेला भएको छैन । अहिलेको सरकार सामान्य सरकार होइन । सरकारका अगाडि धेरै ठूला–ठूला सम्भावना छन् । इतिहासमै बहुमतीय सरकार छ । सरकार ढल्ने र भत्कने खेलको अन्त्य भएको छ, पहिलो । दोस्रो, यो सरकारलाई राजनीतिक आन्दोलन गर्न, संविधान निर्माण गर्न र निर्वाचन गराउनुपर्ने झमेला छैन । केवल एक मात्र एजेन्डा विकास र समृद्धि छ । सरकारका अगाडि चुनौती पनि उत्तिकै छन् । 
पहिलो, नयाँ संविधान कार्यान्वयनको पक्षमा छ । तीन वटै स्थानीयलाई योजना, बजेट र अधिकार बाँडफाँड, हाम्रो अभ्यास पुरानो संविधान अन्तर्गतको छ । नयाँ अभ्यास गर्नुपर्ने छ, नयाँ कानुन र ऐन बनाउनु छ । त्यसबाट हामीले सरकारका मन्त्रीहरू, कर्मचारी, विभिन्न निकायहरू र आम जनतालाई अभ्यस्त (पारङ्गत) तुल्याउनुपर्छ । पुरानो अभ्यासबाट नयाँ अभ्यास गर्नुपर्ने छ, पुरानो विकासबाट झारा टार्ने परम्परा छ, त्यसलाई बदल्नुछ ।
सरकार जनताको अपेक्षा अनुसार अगाडि बढ्न सकेन भन्नु स्वाभाविक हो । तथापि सरकार सुझबुझका साथ अगाडि बढिरहेको छ । क्रमशः त्यसले आकार ग्रहण गर्दै विकसित स्वरूप तयार पार्छ । अघिल्ला सरकारले गरेको गाह्रा, साँघुरा कामहरूलाई पनि यही सरकारले पूरा गर्नुपर्ने छ । त्यसैले सरकार आफ्नो गतिमा अगाडी बढिरहेको छ । र, यसको मूल्याङ्कन गर्ने बेला पनि भएको छैन । सरकार आफ्नो काममा कटिबद्ध छ ।

ठेकेदारलाई कारर्वाही, यातायात क्षेत्रमा एकाधिकार (सिन्डिकेट) अन्त्य लगायतको कुराहरू पूरा हुन सकेनन् कतै यी योजनामै सीमित हुने होइनन् ? 

सरकारले सिन्डिकेट हटाउने भनेर अभियान चलाएको छ । उपब्धिमूलक तरिकाले अगाडि बढिरहेको छ । क्रमशः कार्यान्यवनको चरणमा छ । केही प्रतिशतहरू विकास पनि भएका छन् । नयाँ गाडी थपिरहेको छ, पुराना पनि चलिरहेको छ । पुरानो गाडीहरू सबैलाई निषेध गरेर जाने अवस्था छैन । नयाँ सोच अनुसार तिनलाई रुपान्तरण गरेर क्रमशः पिकअप दिनुपर्छ । 
सिन्डिकेटको अवस्था अहिले निषेधात्मक तरिकाले हुन सक्दैन । पुरानोलाई हटाएर नयाँलाई सिन्डिकेट बनाउने तरिकाले जान हुँदैन । त्यसकारणले विस्तारै सिन्डिकेटको अन्त्य हुन्छ ।

पार्टीभित्रको कारणले पनि हो कि ? 

सिन्डिकेटको अन्त्य र ठेकेदारलाई कारर्वाही नहुनुमा पार्टीभित्रको कुनै भूमिका छैन । पुरानो परम्पराबाट नेपाली समाज अभ्यस्त छ । एकै चोटी तोड्दा बिग्रह आउन र विघटनको दिशातिर जाने खतरा हुन्छ । त्यसलाई पनि मध्यनजर गरेर सरकार अगाडि बढ्दै छ । सिन्डिकेटको कुरा होस् चाहे ठेकेदारलाई कारर्वाही । अहिले ठेकेदारलाई पनि कारवाही गर्ने र बर्खा पनि लाग्ने भइदियो । यसको असर अब वर्षा सकिने सँगसँगै देखापर्छ । ठेकेदारलाई थाहा भइसक्यो, यो सरकारले छोड्दैन भनेर । 
यसको मतलब निधेष गरेर जाने पनि होइन । अहिलेको ठेकेदार सबैलाई जेलमा हालेर अरु ठेकेदार खोज्न जाने पनि होइन । ठेकेदारीका अधिकांश बढी बदमासी गर्ने राष्ट्र र विकासप्रति अनुत्तरदायीलाई सरकारले कडाभन्दा कडा कारर्वाही गर्छ । अलिअलि कामचोरहरूलाई रुपान्तरण गर्ने र राम्रोलाई प्रोत्साहन गर्ने नीति पनि सरकारले अपनाउँछ । ठेकेदारलाई एकैचोटी कारर्वाही गर्दा काम ठप्प हुन्छ । त्यसैले सरकारले क्रमशः ठेकेदारलाई कारबाही गर्दैछ । केही समयमा नै यी कामहरूको परिणाम आउँछ । पार्टीका व्यक्तिहरूको कारणले नियम कार्यान्यवन भएन भन्नु गलत हो ।

केही दिनअघि तपाईंहरूकै सांसदबाट अर्थमन्त्रीको राजीनामा माग भयो, सरकारमा सहभागी मन्त्रीहरूले काम गर्न नसकेका हुन् ?

वर्तमान सरकारमा सहभागी सबै मन्त्रीहरू सक्षम हुनुुहुन्छ । काम गर्न नसकेको भन्न मिल्दैन । अर्थमन्त्रीको राजीनामा मागलाई मन्त्रीहरूले सकारात्मक सुझावको रूपमा लिनुभएको छ । प्रतिपक्ष, विभिन्न संघसस्था, र पार्टी्भित्रकै नेताहरूले सझाव दिनु राम्रो कुरा हो । आलोचनाले राम्रो काम गर्नलाई प्रोत्साहन गर्छ । सरकार इतिहासबाट शिक्षा लिँदै र विभिन्न व्यक्तिहरूको सुझावमा अगाडि बढ्दै छ । 

तपाईं पूर्व ऊर्जामन्त्री हुनुहुन्छ, देशैभर लोडसेडिङको अन्त्य अझै हुन सकेको छैन, समस्या कहाँ छ ?

मेरै योजनामा काठमाडौं लोडेसेडिङ मुक्त भयो, सडकहरू विस्तार भए काठमाडौँको खाल्टाखुल्टी पुर्ने काम भयो, बागमतीको तटीय क्षेत्रमा सरसफाइको काम भयो । तर, रिजल्ट आउने बेलामा मैले सरकार छोड्नुपर्यो । जस मैले पाउन सकिनँ । प्रधानमन्त्री ओलीजीले भन्नुभएको जस्तै भयो– पाइप बिछ्याइसकेपछि धाराको टुटी अर्कैले खोलिदियो । बागमती सरसफाइ गर्नुपर्छ भनेर डा. बाबुराम भट्टराईलाई भन्ने पनि म नै हुँ । बाबुरामजी प्रधानमन्त्री हुनुभएकाले सडक विस्तार र सरसफाइ लगायत सबै कामको जस उहाँले पाउनु स्वाभाविक पनि थियो । योजना मेरो थियो । म चर्चामा आउन चाहिनँ । मान्छेहरूलाई लागेको छ, देशैभर लोडसेडिङ्ग अन्त्य भयो । अद्यापि केही ठाउँमा बाँकी छ । केही समयमा पूर्ण अन्त्य हुन्छ नै ।
बूढीगण्डकी निर्माणमा पनि मैले धेरै पहल गरेँ । तर, सकिनँ । अहिले पनि प्रभावित जनता अन्योलमा छन् । मुआब्जा समयमा नै पाउन सकेका छैनन् । जबसम्म निर्माण कम्पनीलाई बूढीगण्डकी जिम्मा दिइँदैन, तबसम्म अन्योलमा हुन्छ । यस्ता धेरै आयोजना अलपत्र परिरहेका छन् । अब सरकारले समयमा नै छिट्टै निर्णय गरेर जलविद्युत मार्फत् फाइदा लिनसक्नुपर्छ । लोडसेडिङको अन्त्य मात्र होइन । सरकार जवाफदेहिता र पारदर्शीता भएमा मात्र लोडसेडिङ्ग लगायतका योजनाहरू कार्यान्वयन हुन्छ । मुख्य कुरा पारदर्शीता र जवाफदेहीता नै हो । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापश्चात् पार्टी कार्यालय पेरिसडाँडा हुने भन्ने कुरा थियो, अन्तिम समयमा धुम्बाराही हुनुपर्ने बाध्यता के आइलाग्यो ? 

हो, केही दिनअघिको पार्टी सचिवालय बैठकले धुम्बाराहीलाई मुख्य कार्यालय बनाउने निर्णय गरेको छ । जान आउनको लागि बाटोको समस्या भएकाले पेरिसडाँडालाई मुख्य कार्यालय बनाउन सकिएन । सुविधाको लागि धुम्बाराहीलाई मुख्य कार्यालय बनाइएको हो । पेरिस डाँडाबाट जनसंगठनको काम हुन्छ । पार्टी नै एकता भएपछि कार्यालय कता हुन्छ भन्ने अर्थ रहँदैन । हामी जग्गाको खोजीमा छौं, कालान्तरमा दुवै पार्टी कार्यालय एकैतर्फ हुन्छ । कार्यालयको विषयमा कसैले चिन्ता लिनुपर्ने ठाउँ छैन ।

पार्टी कार्यालय दुवैतिर भएपनि बैठकहरू बालुवाटारबाटै सञ्चालन हुँदै आएका छन् त्यसरी बैठक गर्न मिल्छ ?

सरकारको प्रधानमन्त्री र हाम्रो पार्टी अध्यक्ष दुवै एकै भएकाले बैठकहरू बालुवाटारबाट नै सञ्चालन हुँदै आएका छन् । तर पत्रकार गहुँका गेडा गन्दै बसेका छन् । उनीहरूलाई सरकारले के–के गर्यो होइन, बैठक कहाँ गर्यो, चिया कतिको खायो भन्ने चिन्ता छ । बालुवाटारको पार्टी बैठकलाई सबैले पचाउन सक्नुपर्छ । प्रधानमन्त्री पार्टी अध्यक्ष भएकाले उहाँको सुविधाको लागि बैठक गरेको हो । राष्ट्र निर्माणमा लागेको व्यक्तिहरूले चिया, खाजा खान पाउनुपर्छ, कुनै भ्रष्टाचार गरेको होइन । अनैतिक र भ्रष्टाचार गर्नेको कुरा उठाउनु पर्छ । नेताहरूले सामान्य चिया र खाजा खाएको कुरालाई कसैले पनि वितण्डा मच्चाउनु हुँदैन ।

भनेपछि पाँचवर्षसम्म नेकपाले बालुवाटारबाट नै पार्टी बैठक गर्न पाउनुपर्छ ?

गलत कुरा ! बालुबाटारबाट बैठक चल्न पाउनुपर्छ भन्नुको मतलब केन्द्रीय कार्यालय नै बालुवाटारलाई बनाउनुपर्छ भन्ने होइन । कहिलेकाहीँ पार्टी अध्यक्षको सुविधाको लागि मात्र बालुवाटारबाट पार्टी बैठकहरू सञ्चालन हुन्छन् । धेरै जसो भने पार्टी कार्यालयबाट नै हुन्छन् । 

पार्टीभित्र गुटको प्रभाव कत्तिको छ ?

पार्टी्भित्र विभिन्न किसिमका छलफलहरू हुन्छन् । हरेक सानो या ठूलो पार्टीमा अन्तरविरोध (दुई लाइन सङ्घर्ष ) हुन्छन् नै । पार्टीलाई कसरी लैजाने भन्ने विचारको बहस हुन्छन् । समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरामा पनि बहस हुन्छ । नेकपाभित्र पनि विचारको बहस छ । छलफलहरू भइरहेका छन् यसको मतलब महाधिवेशनको तयारीको लागि होइन । नेकपाभित्र अहिले त्यस्तो कुनै गुट छैन ।
साभार ः १२खरी डटकम

प्रतिक्रिया