भर्खरै

एलईडी बल्ब आयातमा लगानी गर्नु भन्दा उद्योग सञ्चालन गर्नु उपयुक्त हुन्छ

  • प्रकाशित मिति : Thu-03-Aug-2017
  • - प्रकाश चन्द्र पाण्डे,  प्रथम उपाध्यक्ष रुपन्देही विद्युतीय व्यवसायी संघ   
title

 वि.स २०५२ साल देखि विद्युत व्यवसायीका रुपमा काम गर्दै आएका रुपन्देही विद्युतीय व्यवसायी संघका प्रथम उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे सँग रुपन्देही जिल्लामा विद्युतीय सामाग्रीहरुको बजारको अवस्था , रुपन्देही विद्युतीय व्यवसायी संघको स्थापना, संघले व्यवसायीहरुको हक हितका लागि गर्दै आएको कार्य ,संघको भावि योजना तथा वर्तमान समयमा नेपालमा विद्युतको अवस्थाका सन्र्दभमा विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठले गरेको कु्राकानीको केही अंश

रुपन्देही विद्युतीय व्यवसायी संघ स्थापना र हाल सम्मको अवस्था बारेमा बताई दिनुहोस् न ?

वि.स २०६२ सालमा अनन्तमान थैवको अध्यक्षतामा बुटवल विद्युतीय व्यवसायी संघका रुपमा स्थापना भएको यस संघ वि.स २०६७ सालमा समग्र रुपन्देही जिल्लाका विद्युतीय व्यवसायीहरुलाई समेट्ने गरी  रुपन्देही विद्युतीय व्यवसायि संघ मा रुपान्तरण गर्यौ  भने सिद्र्धाथ विद्युतीय व्यवसायी संघलाई पनि रुपन्देही विद्युतीय व्यवसायी संघमा नै आवद्ध गरायौँ । रुपन्देही जिल्लामा  १ वटा महानगर र ५ वटा नगरका रुपमा घोषणा भए पश्चात सन्दिप कशौधनको अध्यक्षतामा वि सं २०७२ सालमा १ वटा महानगर र ४ वटा नगरमा संघको शाखा विस्तार भएको छ । व्यवसायीहरुको हक हितका लागि स्थापना भएको रुपन्देही विद्युतीय व्यवसायी संघमा हाल सम्म तीन सय भन्दा बढी सदस्य रहेका छन् । यस संघमा आवद्ध हुनका लागि प्यान या भ्याट बिल अनिवार्य हुनु पर्ने व्यवस्था रहेको छ ।
 
गाउँ नगर एकाई समिति कस्तो खालको समिति हो ? के संघकंै मातहतमा ति समितिहरु सञ्चालित छन् त ?

रुपन्देही विद्युतीय व्यवसायी संघको विधान बमोजिम नै हामीले गाउँ नगर समीति सञ्चालन गरेका छौ । व्यवसायीहरुका हक हित तथा सुविधाका लागि गाउँ नगर एकाई समितिको गठन गरेका हौ । व्यवसायीहरुमा पर्न गएका समस्याहरुको समाधान गाउँ नगरबाट नै गर्ने गरिन्छ । गाउँ नगर समितिको गठन गरे पश्चात व्यवसायीहरु जिल्ला सम्म धाउनु पर्ने झन्झटबाट मुक्त भएका छन् । 

विद्युत व्यवसायीहरुका हक हीतका लागि कस्ता कस्ता योजना ल्याउनु भएको छ ? 

विद्युतीय सामाग्रीहरुको खरिद तथा बिक्रि गर्ने विद्युतीय व्यवसायीहरुको हक हितका लागि स्थापना भएको रुपन्देही विद्युत व्यवसायी संघ व्यवसायीहरुको हक हितका लागि कार्य गर्दै आएको छ । हालै यस संघले संघमा आवद्ध व्यवसायीहरुको हीतका लागि सामुहिक दुर्घटना विमा गराउने प्रक्रियामा छौ भने अहिले कुन सामाग्री कसले बेच्ने भन्ने निश्चित छैन वा सामाग्रीहरुको वर्गिकरण नहुँदा विद्युतीय सामाग्रीहरु अन्य व्यवसायीहरुले विक्रि गर्ने प्रक्रिया बढेको छ । जसले गर्दा विद्युत व्यवसायीहरु आफ्नो व्यवसाय नै बन्द गर्ने अबस्थामा पुगि सकेका छन् । तसर्थ व्यवसायिहरुका हितका लागि विद्युतीय व्यवसायीले कस्ता सामाग्रीहरु विक्रि वितरण गर्न पाउने सो सम्वन्धमा सामाग्रीहरुको वर्गिकरण गर्न का लागि हामीले व्यापार संघ तथा वाणिज्य संघमा पत्राचार गरि सकेका छौ । हाम्रो यस किसिमका कार्य बाट व्यवसायीहरु लाभवान्वित हुने अपेक्षा गरेका छौ । 

संघको भावि योजना बारे बताईदिनुहोस् न । 

रुपन्देही विद्युतीय व्यवसायी संघले हाल सालै व्यवसायिहरुका हितका लागि व्यापार संघ तथा वाणिज्य संघमा पत्राचार गरीसकेको छ व्यापार संघ तथा वाणिज्य संघबाट प्रतिक्रिया आए पश्चात त्यसलाई जतिसक्दो चाँडो कार्यन्वयन गराउने हाम्रो योजना रहेको छ । त्यस्तै व्यवसायिहरुलाई एलईडी बल्बको विक्रिमा जोड दिनु का साथै लेखा व्यवस्थापन तालिम प्रदान गर्ने हाम्रो योजना रहेको छ । 

लिड प्रकरणका सम्वन्धमा के भन्न चाहानु हुन्छ ?यसमा संघ र महासंघले कस्तो भूमिका निर्वाह गर्नु पर्ला ?
 

कम विद्युत खपत गर्ने बढी उज्यालो प्रदान गर्ने एलईडी बल्ब नेपालमा ल्याउनु पर्दछ । यो हामी सबैको माग हो तर सरकारले प्रक्रिया नपुर्याई एलईडी बल्ब आयत गरी सरकारले नै बेच्नु  ठिक होईन । यदि सरकारले व्यवसाय गर्ने हो भने व्यवसायीले के गर्ने ? सरकारले व्यवसाय गर्ने हो भने व्यवसायीहरुले हाल सम्म प्यान तथा भ्याट मार्फत तिरेका कर सरकारले फिर्ता गर्नु पर्दछ । हामीले आयात गर्ने  कुनै पनि  विद्युतीय सामाग्री गुणस्तरी छ या छैन भनेर परीक्षण गर्नका लागि यन्त्रशाला नभएको अवस्थामा सरकारले आयात गर्न लागेका दुई करोड एलईडी बल्ब गुणस्तरी छन् भनेर कसरी प्रमाणित गर्न सक्छ ? यस सम्वन्धमा पनि सरकारले विचार पुर्याउनु पर्दछ । सरकारले एलईडी बल्ब आयात गर्नु भन्दा सोही लगानीमा उद्योग सञ्चालन गर्नु उपयुक्त देखिन्छ । त्यस्तै सरकारे व्यवसायीहरुलाई भन्सार शुल्क नलिई एलईडी बल्ब आयात गर्ने व्यवस्था भएको खण्डमा व्यवसायीहरुले पनि सस्तो मूल्यमा एलईडी विक्रि गर्न सक्दछ । एलइडी बल्ब प्रकरणका सम्वन्धमा हामीले विद्युतीय व्यवसायी महासंघलाई पत्राचार गरिसकेका छौ भने विभिन्न समयमा महासंघ सँग छलफल गर्दै 
आएका छौ । महासंघले पनि यस सम्वन्धमा पहल गरि रहेको छ यद्यपी समयमा नै महासंघले प्राधिकरणलाई जानकारी दिनु पर्ने थियो तर त्यो भने भएको देखिदैन ।

सरकारले जिएसएल बल्ब प्रतिबन्द गरी सकेको अवस्थामा पनि व्यवसायीहरुले जिएसएल बल्ब विक्रि गर्दै आएको छ, यसमा महासंघ तथा संघहरु किन आँखा चिम्लेर बसेका छन् ?

जिएसएल बल्ब प्रतिबन्ध गर्न संघ र महासंघ आँखा चिम्लेर बसेको होईन । महासंघ र संघहरुको पहलमा नै नेपाल सरकारले जिएसएल बल्ब प्रतिबन्ध लगाएको हो । बढि ऊर्जा खपत गर्ने कम उज्यालो प्रदान गर्ने जिएसएल बल्ब प्रतिबन्धित भए पनि यदा कदा पाईने गर्दछ । यसका लागि सरकारले निगरानी बढाउनु आवश्यक छ भने कुन ठाउँमा उत्पादन भईरहेको छ ? कहाँबाट आयत गरीदै छ सो सम्वन्धमा पनि सरकारले ख्याल गर्नु पर्दछ भने जिएसएल बल्ब आयातलाई निरुत्साहित गर्नका लागि सरकारले एलईडी बल्ब आयात गर्दा भन्सार शुल्क कम गर्नु पर्ने देखिन्छ । जसले गर्दा व्यवसायीहरु एलईडी आयात तर्फ 
प्रोत्साहित हुने गर्दछन् र जिएसएल बल्ब स्वतः प्रतिवन्धित हुन्छ । 

विद्युतीय तारहरुमा मात्र नभएर अन्य विद्युतजन्य सामाग्रीहरुमा पनि एकरुपता ल्याउनु पर्दछ । दुबै संघले चालेको कदममा समर्थन गर्न हामी तयार छौ । 

नेपालमा गुणस्तरीय विद्युतीय सामाग्री बजारमा ल्याउन नेपाल सरकारले के के गर्नु पर्ला ?

नेपाल सरकारले विद्युतीय व्यवसायीहरुका लागि अहिले सम्म कुनै पनि अवधारणा ल्याएको छैन । सरकारले व्यवसायीहरुबाट कर असुल्ने बाहेक कुनै काम भएको देखिदैन । प्रविधिले ठूलो छलाङ मारी सक्दा पनि नेपालमा भने अझै सम्म पनि कुन सामाग्री कस्तो छ भनेर परीक्षण गर्नका लागि प्रयोगशालाको समेत व्यवस्था छैन । प्रयोगशाला नेपालमा नहुँदा विदेशीहरुका लगि नेपाल डम्पिङ्ग साईडका रुपमा रहेको छ । हामीले सरकारलाई प्रयोगशाला स्थापना गर्नका लागि पटक पटक पहल गरेको भए पनि सरकारबाट यस सम्वन्धमा कुनै पनि किसिमको प्रतिक्रिया आएको छैन । तसर्थ नेपालमा भित्रिएका सामाग्रीहरु गुणस्तर हो या होईन भनेर भन्न सक्ने कुनै आधार 
रहेको छैन । सरकारले जति सक्दो छिटो नेपालमा प्रयोशाला स्थापना गर्नु आवश्यक छ । 

गुणस्तरीय सामाग्री उपभोक्ता सम्म पुर्याउनका लागि इलेक्टिसियनहरुको भूमिका कस्तो हुन्छ ? यस बारेमा बताई दिनुहोस् न ।

कुनै पनि घर निर्माणका कार्य सम्पन्न गर्न वायरीङ्ग पनि एक महत्वपूर्ण कार्य हो । हाउस वायरीङ्गका क्रममा इलेक्ट्रिसियनहरुको महत्वपूर्ण भूमिका रहन्छ । उपभोक्ताको विश्वासको पात्र पनि इलेक्ट्रिसियनहरु नै हुने गर्दछ । 
रुपन्देही जिल्लाको सन्दर्भमा हेर्ने हो भने पहिले पहिले इलेक्ट्रिसियनहरुले कम गुणस्तरका तारहरु प्रयोग गर्ने गरेको पाईए पनि हाल भने गुणस्तरीय तारको प्रयोग गर्ने गर्दछन् । हामीले संघ मार्फत इलेक्ट्रिसियनहरुलाई पटक पटक गुणस्तरीय  विद्युतीय सामाग्रीको प्रयोग गर्न आग्रह गर्दै आएका छौ । 

विभिन्न विद्युतीय व्यवसायी संघहरुले तारको मूल्यमा एकरुपता कायम गर्ने योजना ल्याएको छ यस सम्वन्धमा के भन्न चाहानुहुन्छ ?

 विद्युतीय व्यवसायी संघ चितवन, पोखरा तथा मकवानपुर विद्युतीय व्यवसायी संघले उपभोक्ता तथा व्यवसायीहरुको  हितका लागि हाउस वायरिङ्ग तारहरुमा एकरुपता कायम गर्ने योजना ल्याएको छ । यो निकै राम्रो पक्ष हो । विद्युतीय तारहरुमा मात्र नभएर अन्य विद्युतजन्य सामाग्रीहरुमा पनि एकरुपता ल्याउनु पर्दछ । दुबै संघले चालेको कदममा समर्थन गर्न हामी तयार छौ । 
 
के नेपालमा लोडसेडीङ अन्त्य सम्भव छ ?

तात्कालिन रुपमा सरकारले लोडसेडीङ्ग नियन्त्रण गर्नका लागि सरकारले एलईडी बल्ब आयात गर्दा भन्सार शुल्क कम गर्नुका साथै प्रयोगशालाको व्यवस्था गर्नु पर्दछ । विदेशी लगानीलाई भन्दा स्वदेशी लगानीलाई बढी प्राथमिकता दिनुका साथै दिर्घकालीन रुपमा लोडसेडीङ्ग अन्त्य गर्न सरकारले ठूला ठूला जलविद्युत आयोजनाहरुलाई बढी प्राथमिकता दिनु पर्दछ । जसबाट पूर्ण रुपमा  नेपालमा पूर्ण रुपमा लोडसेडीङ्ग  अन्त्य सम्भव छ । 

सरकारले ल्याएको भन्सार नीति स्पष्ट रहेको छैन भन्ने सुनिन्छ यसमा सरकारले के गर्नु पर्ला ?

नेपाल सरकारले हाल सम्म ल्याएको भन्सार नीति निकै नै अस्पष्ट रहेको छ । भन्सार मूल्यमा एकरुपता रहेको छैन । यसका लागि सरकाले कुन सामानमा कति भन्सार लगाउने हो सो का सम्वन्धमा निश्चित मापदण्ड कायम गर्नु पर्दछ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?

विद्युतीय क्षेत्रलाई समेटेर प्रकाशन हुने विद्युत संसार साप्ताहीक  पत्रिका देश व्यापीरुपमा प्रकाशन हुनु पर्दछ । यो विद्युत विधालाई समेटेर प्रकाशन भएको पहिलो पत्रिका विद्युत संसार साप्ताहिक पत्रिकाको हो । संरक्षण तथा संवद्र्धन गर्नु पर्दछ र यसै पत्रिका मार्फत सम्पूर्ण उपभोक्ता तथा व्यवसायिहरुलाई गुणस्तरीय सामाग्री उपभोग तथा विक्रि वितरण गर्न आग्रह गर्दछु । 

प्रतिक्रिया