भर्खरै

पर्यटकीय क्षेत्र नाम्चे र थामेका नौ सय ६० घरपरिवार अन्धकारमा

  • प्रकाशित मिति : मंगल, भदौ ४, २०८१
  • - विद्युत संसार संवाददाता
title

लुखुम्बु, ४ भदौ । थामेखोलामा आएको बाढीले कारण थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पुर्‍याउँदा झण्डै एक हजार घरपरिवार प्रभावित भएका छन् । 
 
गत शुक्रबार खुम्बु पासाङल्हामू गाउँपालिका–५ थामेमा आएको बाढीले गाउँसहित नौ सय ३० किलोवाट क्षमताको उक्त परियोजनाको बाँधमा क्षति पुर्‍याएको थियो । जसका कारण वडा नं ४ खुम्जुङ, खुन्दे तथा वडा नं ५ नाम्चे र थामेका गरी नौ सय ६० घरभन्दा बढी घरपरिवार प्रभावित भएको खुम्बु विजुली कम्पनीका प्रबन्धक सोनाम दोर्जी शेर्पाले जानकारी दिनुभयो । 
 
गाउँपालिका वडा नं ५ का अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले बाढीका कारण जलविद्युत् परियोजनामा क्षति पुगेको उल्लेख गर्दै सञ्चालनमा ल्याउनका लागि महिना दिनभन्दा बढी समय लाग्न सक्ने बताउनुभयो । “बाढीका कारण परियोजनाको बाँधमा ठूलो क्षति पुगेको छ, मर्मतका लागि एक महिनाभन्दा बढी समय लाग्ने जानकारी दिइएको छ”, उहाँले भन्नुभयो । 
 
सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले विजुली नहुँदा सञ्चारलगायतका सेवा अवरुद्ध भएको बताउनुभयो । “बाढीले विद्युत् आयोजनामा क्षति पुर्‍याएपछि समस्या भएको छ, बत्ती नुहँदा मोबाइल नेटवर्कसमेत प्रभावित हुँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ । बाढीका कारण खुम्बुमा ठूलो क्षति पुगेको छ”, उहाँले भन्नुभयो । 
 
विद्युत् परियोजना मर्मतका लागि आइतबारदेखि नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली खटिसकेको इलाका प्रहरी कार्यालय लुक्लाका इञ्चार्ज प्रहरी नायब निरीक्षक हेमबहादुर कट्वालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली मर्मतमा खटिएका छन् । क्षति ठूलो भएकाले तत्काल आयोजना सञ्चालन हुने सम्भावना न्यून भएको जानकारी प्राप्त भएको छ ।” 
 
विद्युतगृहमा क्षति नभए पनि बाँध पूर्ण रुपमा क्षतिग्रस्त भएको नाम्चेका स्थानीय समेत रहनुभएका राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो । 
 
बाढी र पहिरोमा बगेर आएर ठूला ढुङ्गा बाँधमा थुप्रिएका छन् । उक्त ढुङ्गा हटाउनका लागि स्काभेटर मेसिन आवश्यक पर्ने उल्लेख गर्दै खुम्बुु विजुली कम्पनीले आयोजना पुनः सञ्चालनका लागि केही समय लाग्न सक्ने जनाएको छ । हाल लुक्लाभन्दा तलको गाउँ थामडाँडासम्म मात्रै सडकको पहुँच रहेकाले सो स्थानसम्म स्काभेटर लैजान सहज नभएको कम्पनीको भनाइ छ । 
 
“बत्ती नहुँदा खुम्बु क्षेत्र अन्धकारमा छ, बाढीले क्षतिग्रस्त विद्युत् आयोजना कसरी सञ्चालन गराउने भन्नेबारेमा छलफलमा छौँ”, राष्ट्रियसभा सदस्य शेर्पाले भन्नुभयो । उहाँले आफूहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले पनि समस्या समाधानका लागि चासो देखाउनुभएको बताउनुभयो । 
 
उहाँले उक्त स्थानमा स्काभेटर मेसिन कसरी लैजाने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । “मेसिन जतिसक्दो छिटो पुर्‍याउन सकियो त्यति नै चाँडो परियोजना पुनः सञ्चालनमा ल्याउन सकिन्छ, मानवीय जनशक्तिको मात्रै भरपर्ने हो भने एक वर्षभन्दा बढी समय लाग्ने देखिएको छ”, उहाँले भन्नुभयो ।  
 
उक्त विद्युत् आयोजना सन् १९९३ मा स्थानीयको लगानी र अष्ट्रिया सरकारको सहयोगमा निर्माण भएको हो । सगरमाथा क्षेत्रमा पर्ने सो आयोजनाको क्षमता विस्तार गर्नका लागि भारत सरकारले सन् २०१३ मा रु चार करोड ४६ लाख सहयोग गरेको थियो  ।
 
उक्त रकमबाट आयोजनाको पेनस्टक पाइप निर्माण गरिएको थियो । छ सय ३० किलोवाट क्षमताको आयोजना भारत सरकारको सहयोगपछि स्तरोन्नति गरी नौ सय ३० किलोवाट क्षमताको बनाइएको थियो । 
 
उक्त क्षेत्रमा आजदेखि नेपाल टेलिकमको मोबाइल सेवा आंशिक रुपमा सञ्चालनमा आएको जनाइएको छ । यद्यपि नाम्चेभन्दा माथिको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । 
 
गत शुक्रबार दिउँसो थामेको शिरमा रहेका दुई वटा हिमताल फुट्दा थामे खोलामा आएको बाढीले खुम्बुसहित तल्लो सोलुका नदी आसपासका क्षेत्रमा क्षति पुर्‍याएको थियो । बाढीले खुम्बु पासाङल्हामु(५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । 
 
बाढीले खुम्बु पासाङल्हामु(३ फाक्दिङदेखि नाम्चेतर्फको क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको थियो । बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिँसिदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य(खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको थियो । जसका कारण सल्लेरीबाट खुम्बुसम्मको आवतजावत अवरुद्ध भएको छ । 

प्रतिक्रिया